२०८१ वैशाख २४ गते | 6th of May 2024

सरकार बिरुद्ध देशभर कांग्रेसको प्रदर्शन

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २९ गते १३:३०

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । सरकार बनेको लामो समयसम्म लचिलो बन्दा नागरिकस्तरबाटै ‘प्रभावहीन प्रतिपक्षको’ संज्ञा पाएको कांग्रेसले विरोधका लागि दिएका वक्तव्यले काम नगरेपछि सडकमा उत्रिनुपरेको जनाएको छ ।

सरकारविरुद्ध सांकेतिक विरोध घोषणा गरेर सडकमा उत्रिँदा जनताबाट राम्रै साथ पाएपछि उत्साही भएको कांग्रेसले अब सरकार ठीक बाटोमा नहिँडे सडकबाटै ठेगान लगाउने चेतावनी दिएको छ ।  “यस्तो बेला सडकमा आउनुपरेकोमा म सबै जनतासँग माफी चाहन्छु, कोरोनाको महामारीमा सडकमा आउने हाम्रो रहर होइन,” हेटौँडाको सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले भने, “यस्तो बेला यो स्तरको उपस्तिथि सरकारविरुद्धको आक्रोश पनि हो, कांग्रेसप्रतिको आशा र विश्वास पनि हो ।”

उनले भ्रष्टाचारमा कीर्तिमानी बनाएको सरकारले व्यवस्थालाईसमेत बदनाम गरेर गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाए । सभापति देउवाले आफूले कम्युनिष्टहरुले जिते भने राम्रोसँग हास्न पाइँदैन, खुलेर रून पनि पाइँदैन भन्दा उडाउनेहरुलाई अहिले ओली सरकारले नै जवाफ दिएको बताए ।  “मैले त कम्युनिष्टले जितेभने राम्रोसँग हास्न पाइँदैन रून पनि पाइँदैन भनेको थिएँ, तर अहिले कोही खुलेर रोयो भने पनि ओली सरकारले जेल हाल्छ,” देउवाले भने ।

काठमाडौको सभालाई सम्बोधन गर्दे  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त यो सरकार कुन स्तरको भ्रष्टाचारी हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै स्थायी कमिटीको बहुमतले भनेको भन्दै भ्रटाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्स्परेन्सी इन्टरनेशनलले त तथ्यसहित एसियाकै भ्रष्ट भनेर रिपोर्ट नै सार्वजनिक गरिसकेको बताए ।  उनले वर्तमान सरकार र पञ्चायत शासनकाबीच तात्विक अन्तरसमेत नरहेको दावी गरे । “पञ्चायतमा रूख रोप्दा मेरो टाउको फुटाइएको थियो, अहिले आफ्नै पहलमा बनाएको पूल उद्घाटन गर्न जाँदा यो सरकारले करङ भाच्ने काम गरेको छ,” पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *