काठमाडौं २७ असार । नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई भारतले अनुमति दिन आनाकानी गरिरहेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ। जसका कारण खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महरारले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन्। भारत भ्रमणमा रहेका महराले स्वराजसँगको द्विपक्षीय भेटमा ग्यास बुलेट सञ्चालन अनुमति दिन प्रस्ताव गरेका थिए ।
बुलेट सञ्चालन गर्ने वातावरण बनाउन प्रतिबद्धता जनाउनुको सट्टा स्वराजले नेपालकै ग्यास स्टेसनसम्म ढुवानी गरिदिने आश्वासन दिएकी छन् ।
नेपालमा ग्यास स्टेसन छैन । भारतीय ट्यांकरले इण्डियन आयल कर्पोरेसन .इओसी० का रिफाइनरीबाट यहाँका उद्योगसम्म ग्यास ढुवानी गर्दै आएका छन् । करिब छ सय भारतीय बुलेटले आइओसीका विभिन्न रिफाइनरीबाट ग्यास ढुवानी गर्दै आएका छन् । ढुवानीबापत वार्षिक करिब साढे दुई अर्ब रुपैयाँ भारतीय व्यवसायीले लैजान्छन् । भारतबाट मासिक करिब ३० हजार मेट्रिक टन ग्यास आयात हुन्छ ।
अर्बौं रुपैयाँको व्यवसाय गुम्ने भएपछि इण्डियन व्यवसायीले आर्थिक चलखेल गरेर रोकेका निगमका अधिकारी बताउछन ।