२०८१ वैशाख २५ गते | 7th of May 2024

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाए

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ७ गते १४:०७

वासिगंटनडिसी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् । अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन् । आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ ।

त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन् । उनले खोप लगाउने क्रममा भने, ‘उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर मैले यस्तो गरेको हुँ । खोपलाई लिएर चिन्ता गर्नु पर्ने कुनै कारण छैन ।’देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनु पर्ने पनि बाइडेनले बताए । बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन् ।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *