२०८१ साउन १२ गते | 27th of July 2024

नेता तानातानमा नेकपाका दूई समुह

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ७ गते १४:४३

काठमाडौ-   लामो समयदेखि भुसको आगोकोरुपमा  सल्किएको नेकपामा अन्तत पार्टी कसको भागमा पार्ने भन्नेमा तानातान भएको छ । मंगलबार ओली र प्रचण्ड नेपाल समुहले बेग्ला बेग्लै केन्द्रिय समितिको बैठक सम्पन्न गरि आआफनो दाबी र आरोप प्रत्यारोप गरेका मात्र छैनन एकले अर्काे समुहलाई पार्टीबाट निकालेको दावी पनि गरेका छन । आज नेकपाका समुहहरु आआपनो समुहमा सदस्यहरु तान्न पनि ब्यस्त रहेका थिए ।

दिन भर के के गतिबिधि भयो त ?

माधवकुमार नेपाल  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनेका छन्।  मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो। आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ।  उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई  अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।

उता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेलामा पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन्। उनका प्रेस सल्लाहाकार  सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भनेर जीवन शर्माको गीत गुनगुनाएका थिए। बालुवाटारमा  केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेका छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा  केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै उनले अझै पनि संसद विघटन नभएको बताए। ‘हामी लिडिङ पार्टी हौ। अरू कुनै पार्टी पनि विघटन मान्न तयार छैनन्। हामीले अदालतमा अपिल गरेका छौं। अदालतबाट संसद पुनर्स्थपना हुन्छ’, उनले भने। उनले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको बताए। संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन्  भन्ने विश्वासमा आफू अझै पनि रहेको भन्दै प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने जिकिर गरे। ‘पूर्व एमालेमा पटक-पटक  नेतृत्व गर्ने नेताहरु र पूर्व माओवादीका नेतृत्व पंक्तिका नेताहरु यही समूहमा हुनुहुन्छ । उपाध्यक्ष गौतम पनि यही समूहमा आउनुहुन्छ। भोलिबाट बादलले पनि सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ। ६५ प्रतिशत सदस्य हामीसँगै रहेकाले यो समूह नै आधिकारीक नेकपा हो,’ बैठकमा अध्यक्ष प्रचण्डले भने।

यहाँ तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति रहेको भन्दै उनले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका कसैंलाई भ्रममा नपर्न आग्रह गरेका छन्। केपी ओलीले बिहान गरेको बैठक नौटंकी भएको प्रचण्डको भनाई छ।’आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एक तिहाइ भन्दा कम सदस्य उपस्थित नभएर दुई तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन। यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्,’ उनले भने। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय समिति विस्तार गर्ने निर्णयमा गम्भीर आपत्ति जनाएका छन्।प्रचण्डले १ तिहाई केन्द्रीय सदस्य भएको वालुवाटार भेलाले झण्डै २ तिहाई सदस्य संख्या कसरी थप्नसक्यो भनि प्रश्न गरेका थिए।ओलीले बोलाएको बैठकलाई अवैधानिक रहेको जिकिर गर्दै उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक भएको दाबी गरे। प्रचण्डले आफूले पार्टीमा प्रस्तुत गरेको प्रतिवेदनलाई ओलीले ‘आरोपपत्र’ भनेकोमा आपत्तिसमेत जनाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *