काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दैराष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको जनाएको हो ।
यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। खतिवडा लाभको पदमा काम गर्ने सबैभन्दा धेरै अवसर पाएकामध्ये पर्छन्। उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो। उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो। गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो।
लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए।