२०८१ साउन १२ गते | 27th of July 2024

प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदम विरुध्द पुस १३ गते प्रदर्शनमा सहभागी बन्‍न देउवाको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ११ गते १२:०८

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदम विरुध्द पुस १३ गते प्रदर्शनमा सहभागी बन्‍न अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सबैमा सक्रिय सहभागिताका लागि त्यस्तो अपिल गरेका हुन् ।  कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुध्दमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।

जारी केन्द्रीय समिति बैठकमा आफैले प्रदर्शन गर्ने प्रस्ताव गरेर सर्वसम्मत निर्णय गरी पार्टीको सम्पूर्ण ध्यान प्रदर्शनमा गरेको देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्‍चात अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्,’ पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुध्द ऐक्यबध्दता प्रकट गर्न अपिल गर्दछु ।’

देउवाले विघटनकै दिन पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूको बैठकबाट विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गरेका छन् । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुध्द कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *