बिरिन्चोक, गोरखा – कोदोको ढिडो, लोकल कुखुरा मासु सँगै अर्गानिक परिकार । भजन, चुट्का, मारुनी, पाङदुरे लगायतका सांस्कृतिक अवलोकन । गाउँले परिवेशको झल्को मेटाउने गोरखा नगरपालिका–१० को बिरिञ्चोक सामुदायिक होम स्टेले सेवा शुरु गरेको छ ।
‘गत असोज ६ गतेबाट औपचारिक रुपमा सेवा शुरु गरेका थियौ,’ होम स्टे व्यवस्थापन समिति अध्यक्ष सम्झना राना मगरले भनिन्, ‘तर कोरोनाले गर्दा लामो समय बन्द भयो, केही दिन अघिबाट पुनः सेवा शुरु गरेका हौ ।’
उनका अनुसार हाल १९ घरधुरीमा होम स्टे संचालन गरिएको छ । एक पटकमा १०० जना सम्म पाहुना राख्न सक्ने उनले बताइन् । अन्य घरधुरीहरुलाइ पनि समावेश गराउने तयारी भइरहेको उनको भनाइ छ ।
पाहुनाका लागी बिशेष प्याकेजको व्यवस्था रहेको उनले जानकारी दिइन् । ‘यहाँ आउने पाहुनालाइ दिउँसोको खाजा, वेलुकीको खाना, बस्ने बास र बिहानको नास्ता तथा खाना गरेर प्रति व्यक्ति एक हजारको प्याकेज बनाएका छौ,’ उनले भनिन् ।
पाहुनालाई भुलाउनका लागी बिरेडाँडा, थुम्काचुली, बिरिमकाली मन्दिर लगायतका रमणीय स्थलहरु समेत रहेको उनले बताइन् । पाहुना बस्नका लागी समितिले आलोपालो गरी घर छनोट गर्नेछ । ‘हामीले घरधुरीको नम्वर लगाएका छौ, रेटेशन गरेर पाहुना राख्छौ,’ मगरले भनिन् ।
एउटा घरमा ५ देखि ६ जना सम्म पाहुना राख्न सकिने उनले बताइन् । होम स्टे संचालनका लागी स्थानीयले काठमाण्डौमा कुक तालिम समेत लिएका थिए ।
होम स्टे संचालनका लागी गोरखा नगरपालिकाले गत बर्ष पाँच लाख रकम विनियोजन गरेको छ । त्यस्तै कार्यालय व्यवस्थापनका लागी डिभिजन वन कार्यालयबाट एक लाख ४८ हजार रकम बराबरको सामग्री प्राप्त भएको समितिले जनाएको छ ।
यो बर्ष गण्डकी प्रदेशबाट दश लाख रकम परेको समिति अध्यक्ष मगरले बताइन् ।साबिकको तारा गाउं बिकास समितिबाट रु. ६ लाख प्राप्त भएको थियो । होमस्टेमा संकलित रकम मध्य १० प्रतिशत कार्यालयलाइ छुट्याइने बताइएको छ । केही प्रतिशत रकम सामाजिक कार्यमा समेत खर्च गरिने मगरले बताइन् ।