लण्डन- कोरोना भाइरस महामारीको अर्को लहर सघन बन्दै जाँदा बेलायतमा फेरि लकडाउन गरिएको छ । बेलायतका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ । स्वीकृति प्राप्त वा लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने छन् नयाँ लकडाउनको नियम अनुसार लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सबै विद्यालय तथा कलेजहरु बन्द हुनेछन् र पढाई अनलाईन मार्फत मात्रै हुनेछ ।
कोरोना भाइरस संक्रमणको दर बढेको तथा बिरामीको संख्या थपिँदै गएको अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् । आउँदो महिनाको मध्यसम्ममा प्राथमिकताको पहिलो चार समूहमा रहेकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइने प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन् । यसअघि स्कटल्याण्डमा घरमै बस्नु पर्ने निर्देशन जारी भएको थियो । यस्तै वेल्सले जनवरी १८ सम्म विद्यालय तथा कलेज बन्द हुने जनाएको छ । नर्दन आयरल्याण्डमा अनलाईन कक्षालाई थप केही समय बढाउने भएको छ । बेलायतमा परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नयाँ लकडाउन लागु भएको हो ।