काठमाडौ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएकै समयमा निर्वाचन हुने बताउनु भएको छ । कैलालीको धनगढीमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारको सिफारिस अनुसार निर्वाचन आयोग निर्वाचनको तयारी लागेको छ, प्रतिनिधिसभाको निर्वाचन हुन्छ ढुक्क रहनुहोस्, भन्नुभयो । उहाँले आगामी निर्वाचन भ्रष्ट र राष्ट्रहित विपरित काम गर्ने नेतालाई पाखा लगाउने अवसरको रूपमा लिन समेत आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले ताजा जनादेशमा जाने भनेर संसद् विघटनको सिफारिस गरेको उल्लेख गर्नुहुँदै अब निर्वाचनबाट प्रतिनिधिसभा गठन हुने बताउनुभयो
५० बर्ष अगाडी गणतन्त्रका लागि संघर्षको मैदानमा उत्रिएर आफू १४ बर्ष जेल बसेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले आफूलाई गणतन्त्रवादी होइन भनेर कुर्लिएको देखिन्छ, भन्नुभयो । प्रधानमन्त्री ओलीले फाटो तिर नभई एकतातिर अघि बढौँ भनी आफूले आग्रह गरेको उल्लेख गर्नुहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाललगायतका नेताहरू किन बैठकमा आएनन् भनेर खोजी गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउनु, भ्रष्टाचारको अन्त्य गर्नु र नेपाली जनतालाई सुखी नेपाली बनाउने गरी सरकारले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो ।उहाँले कृषिको आधुनिकिकरण गरी आयात प्रतिस्थापन गर्न तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेको उल्लेख गर्नुहुँदै आरक्ष पीडित, भूमिहीन, सुकुम्वासीलगायतका समस्या समाधानका लागि सरकारले भूमि सम्बन्धी समाधान आयोगमार्फत काम गरिरहेको बताउनुभयो ।