काठमाडौं –नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण थला पर्दै गएको व्यापार तथा व्यवसायमा हाल सुधार आउन थालेको जनाएको छ । बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृति सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै २०७७ असारको तुलनामा २०७७ मंसीरमा उद्योग–व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको जनाएको छ ।
कोभिड पूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग–व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसीरमा करिब ५४ प्रतिशत पुगेको देखिएको छ ।अझै पनि ९.१ प्रतिशत उद्योग र व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे नेपाल राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा देखाईएको छ ।प्रतिवेदनमा गत असारको तुलनामा उद्योग–व्यवसायहरुको उत्पादन र कारोबारको अवस्थामा समेत सुधार आएको उल्लेख छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन र कारोबार रहेकोमा मंसीरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । यसैगरी गत असारको तुलनामा उद्योग–व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले सामान आयात गर्दा सकेसम्म नेपाली ढुवानी कम्पनी मार्फत नै गर्नुपर्ने नियम बनाएको छ । यसअघि सामान आयात गर्दा सकेसम्म नेपाली बीमा कम्पनीबाट बीमा गराउनु पर्ने पुरानो ब्यवस्थामा मंगलबार सामान्य परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले ढुवानी सेवा पनि थप गरेको हो ।भारतबाहेक अन्य मुलुकबाट ‘सीआइएफ’ बाहेककका मूल्यमा प्रतीतपत्र मार्फत आयात गर्दा सकभर नेपाली बीमा कम्पनीका साथै ढुवानी कम्पनी पनि नेपाली नै प्रयोग गर्न भनिएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताउनुभयो । कार्यकारी निर्देशक मिश्रले ठूलो आकार अर्थात १२।१३ खर्बको आयात हुने भएकाले र त्यस मात्राको आयात धान्ने क्षमता हाम्रा ढुवानी कम्पनीसँग नहुन पनि सक्ने हुँदा सम्भव भएसम्म भनिएको स्पष्ट पनि पार्नुभयो ।