काठमाडौ -नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाएका छन्। पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रचण्डले कलंकको टीकाका रूपमा अर्थ लगाएका छन्। उनले पोखरामा मंगलबार आयोजित भेलामा केही महिनाभित्र आफूहरू विजयी हुने पनि दाबी गरेका छन्। ‘केही महिनाभित्रै हामी विजयी हुन्छौं। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं। मैले केपी ओलीलाई नै भनेको छु- तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो।
उनले सडकमा उत्रँदा फेरि एकपटक विद्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन्। ‘फेरि विद्रोह गरेको अनुभूति भएको छ। सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ। निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो,’ उनले भने। उनले पार्टी एकता भनेर मात्रै पनि नहुने बताएका छन्। पार्टीभित्रका गलत प्रवृत्तिविरूद्ध लडाइँ र आलोचना गर्न नसकेमा सोभियत संघजस्तो हुने पनि प्रचण्डको भनाइ थियो।