काठमाडौँ – नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध फेरि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। यसअघि संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म चरणबद्ध प्रर्दशन गरेको काँग्रेसले फेरि तीन चरणको विरोधसभा आयोजना गर्ने भएको छ। मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृसंस्थाले ७७ वटै जिल्लामा प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको छ।
त्यस्तै माघ २४ गते शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम गर्ने भएको छ भने ३० गते सबै जिल्ला कार्यसमितिले आआफ्नो जिल्लामा विरोधसभा गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पुस ५ गते संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आएको छ। नेकपाको दाहाल नेपाल खेमाले पनि चरणबद्ध रुपमा सडक आन्दोलन सञ्चालन गर्दै आएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि खेद प्रकट गरेको छ। प्रवक्ता शर्माका अनुसार अर्को पक्षको आलोचना गर्नु स्वभाविक भए पनि ओलीको अभिव्यक्ति तिक्त भएको ठहर कांग्रेसले गरेको छ। त्यस्तै कांग्रेसले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा बल प्रयोग गरेको प्रति पनि आपत्ति जनाएको छ।उसले विरोध गर्न पाउने नागरिकको मौलिक हकको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।