२०८१ वैशाख १९ गते | 1st of May 2024

घान्द्रुक गाउँमा सिनेमा छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १३ गते १४:१०

काठमाडौ-  कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनका लागि सम्भावनायुक्त रहेको   सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ बारे छलफल चल्यो।  छलफलमा चलचित्रका निर्देशक/नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे।

छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयातनमा सहयोग नपुगेको बताए।  कोभिड पछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै पर्छन्। अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त?  ‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ। कोरोना साम्य बन्दै गएपछि भने बिस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुनस्र्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ।’

निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुवै क्षेत्र पनि अति प्रभावित भएको सुनाए। उनी भन्छन्, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो। सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ। म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ।’  उनले १२ वर्षअघि मेरो एउटा साथी छ फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै। म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ। केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई। विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ।’

तनहुँको मानहुँकोटको चर्चा यतिबेला चुलिएको छ। युवापुस्तामाझ चर्चित टिकटक एपमा राखिएको १५ सेकेन्डको भिडिओले उक्त डाँडालाई चर्चित बनायो। त्यसरी नै सिनेमाले कुनै ठाउँलाई पर्यटकीय हबका रुपमा विकसित भइसकेको छ।  सहजकर्ता मिश्रले मानहुँकोटकै सन्दर्भ उल्लेख गर्दा पर्यटन परिषद्का अध्यक्ष भट्टराई सहमत देखिए। उनले भने, ‘सिनेमाका माध्यमबाट विश्वका धेरै ठाउँ पर्यटकीय हब बनेका छन्। सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेका छन्। अहिले पर्यटन संस्था अस्ताएको हो कि भन्ने लाग्छ। त्यसमा हाम्रो समन्वय जरुरी छ।’

सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रका रुपमा कुनै पनि स्थानलाई चिनाउन सहयोग गरे पनि त्यसको विकास निर्माणमा सहयोग गरिहाल्ने भने नहुने निर्देशक थापाको भनाइ छ।  उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा ‘के यो माया हो?’ फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन। पछि त्यहीं ‘प्रेम गीत’ खिच्यौं। घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं। आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो। त्यो ठाउँलाई कसरी देखाउने, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन्।’

सरकारी निकायको सहयोग भने अपेक्षा नगरिएको भएकाले वास्ता नभएको उनको प्रतिक्रिया छ। त्यसको साटो स्थानीय स्तरबाट पाएको सहयोगले नै हौसला मिलेको उनले बताए।  ‘ड्रोन सटका लागि सरकारी अनुमति लिनुपर्छ। त्यसमा प्रक्रिया त्रुटि भयो भने पनि हामी सजाय भोगिरहेका हुन्छौं।’  पर्यटन सम्बद्ध संस्थाको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो कि? पर्यटन परिषद्का अध्यक्ष गोपी भन्छन्, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो। विगतमा भएको कमजोरी भन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो।’

यस प्रसंगमा निर्देशक थापाको मत केही फरक छ। उनी भन्छन्, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं। हामी पनि छायांकन सकेर त्यस ठाउँसँग सम्बन्ध राखेनौं। स्थानीय स्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन।’

दोस्रो सेसन ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमा बहस हुनेछ। छलफलमा कवि भूषिता वशिष्ठ, साहित्यकार गणेश पौडेल, अभिनेता दीपकराज गिरी वक्ताका रूपमा हुनेछन्। सहजीकरण दिनेश डीसीले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *