२०८१ जेठ ५ गते | 18th of May 2024

सरकारले खारेज गरयो वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ , परिवर्तनका लागि भएका सबै आन्दोलन र सङ्घर्षमा जीवन उत्सर्ग गर्ने तथा पीडितको अभिलेख सङ्कलन गरिने

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १४ गते १४:१५

काठमाडौँ – सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ लाई खारेज गर्ने निर्णय गरेको छ । हालैका मन्त्रीपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन उपभोक्ता, वन कर्मचारी र वनजन्य उत्पादनसम्बन्धी ठेकेदारको मिलेमतोमा धेरै वन क्षेत्रमा हानी नोक्सानी हुने गरेको पाईएपछि वन संरक्षणका लागि सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ लाई खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशित गर्ने निर्णय गरेको र छिट्टै राष्ट्रपतिले सो हुलाक टिकट सार्वजनिक गर्ने जानकारी गराउनुभयो । सरकारले नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन र सशस्त्र सङ्घर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गरिने मन्त्री गुरुङले बताउनुभयो । यसरी विवरण सङ्कलन गरिएकाहरुलार्ई नेपाल सरकारको तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउने सम्बन्धमा मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव पेश गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय भएको सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।  समितिमा खानेपानी मन्त्री मणिचन्द्र थापा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे सदस्य रहनुभएको छ ।

मन्त्रीपरिषद् बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन(पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने निर्णय गर्नुका साथै विदेशबाट नेपाल आउने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेनटिनसम्बन्धी आदेश २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *