२०८१ जेठ ६ गते | 19th of May 2024

गगन थापाले भने- “प्रधानमन्त्रीले शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्”

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १६ गते १२:४५

काठमाडौं – नेपाली काँग्रेसका युवा नेता गगन थापाले भारत र बेलायतको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई दिएको अधिकार नेपालको संविधानले परिकल्पना नगरेको बताएका छन् । काँग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले ‘हाम्रो संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान छ। विघटनको अधिकार छैन। हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने भए उतै जानुस् ’ भने ।

उनले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए।‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने  घर  जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने।

उनले पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको बताए। ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने, ‘घर बनाउन नसक्ने हो भने जानिनँ भन्नुपर्नेमा उहाँ जग भत्काउन लाग्नुभयो।’  उनले ओलीलाई इतिहासले जनताको अधिकार खोस्ने शासकका रुपमा दर्ज गर्ने बताए । थापाले अहिले चुनाव कसले जित्ने भन्ने प्रश्न नभएको भन्दै काँग्रेसले जित्ने बताए । ‘आज नेकपाकै दुई खेमा एक अर्काविरुद्ध खेलेका छन्। चुनाव जित्ने र हार्ने कुराका लागि मात्रै नेपाली काँग्रेस बनेको होइन,’ उनले भने, ‘हामीलाई लागेको छ गोल हान्न सजिलो छ। तर खेल मैदान रहेन गोल हान्ने हो, नरहे के गर्ने ? त्यसैले खेल मैदान राख्ने पद्धति राख्नका लागि काँग्रेस लडेको छ।’

उनले ओलीको नाम नेपाली जनताको अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने दाबी गरे । नेता थापाले भने, ‘प्रधानमन्त्रीज्यू तपाईंले नेपाली जनता अपमान गरिरहनुभएको छ । युगको अवमूल्यन गरिरहनुभएको छ ।  तपाईंको नाम अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *