काठमाडौँ – नेपालमा सञ्चारकर्मीहरूलाई भोलि माघ २६ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्र भागमा रहेर काम गरिरहेका सञ्चारकर्मीलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिनुभयो ।
आइतबार काठमाडौँमा आयोजित छलफलमा सञ्चारमन्त्री गुरुङले नेपाल पत्रकार महासङ्घमा आबद्ध १३ हजार बढी पत्रकारलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नुभयो । काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहनुभएका सञ्चारकर्मीहरूलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताउनुभयो ।
यसैबिच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार पत्राचार गरी ‘माघ २६ गतेदेखि पाँच दिनका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि कोभिड १९ विरुद्धको खोप अभियान सुरु हुने भएकाले खोप प्राप्त गर्नुपर्ने सम्पूर्ण सञ्चारकर्मीहरूको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई दिन हुन र आवश्यक समन्वय गरि दिनु हुन अनुरोध गरेको छ ।