काठमाडौ – बिहीबार दिउँसो पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएकी हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापका अनुसार झाँक्रीलाई साँझ रिहा गरिएको हो । राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई रिहा गरेको हो । प्रहरीको सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्।’संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,’झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भने।
‘बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन। मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौं,’उनले भने। प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्। उनको रिहाइको माग गर्दै नेकपा युवा संगठनले बिहीबार नै आन्दोलन चर्काएका थिए ।