२०८१ वैशाख २४ गते | 6th of May 2024

बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई अविलम्ब पक्राउ गर्न प्रधानमन्त्रीसँग नेपाली कांग्रेसको माग

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ३० गते १४:४९

काठमाडौं– नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई अविलम्ब पक्राउ गर्न प्रधानमन्त्रीसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन भनिएको छ।‘बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुखद् र गम्भीर रूपमा लिएको छ,’ शर्माले भने, ‘अतः अनुसन्धान तिव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्रीसमक्ष माग गर्दछ।’

शान्ति स्थापना र संविधान निर्माणपश्चात् देशमा अमनचयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्नेछ भन्ने विश्वास बितेका वर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको कांग्रेसले जनाएको छ। अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको शर्माले बताएका छन्। महिलाउपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बैतडी घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक  बैतडी पुग्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *