काठमाडौ -प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको दिउँसो १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गर्नुभएको हो । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो । नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ छ । बुटवल केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ । अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबिचमा लुम्बिनी केबलकार रोलमोडल बन्ने बताए । मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका हामी सबै खुशी रहेको बताए ।
लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बताए ।उनले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।