काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशको सम्मान र प्रणालीको रक्षाको लागि प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नु परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका केही नेताहरुको अतृप्त इच्छाका कारण समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि र सरकारलाई काम गर्ने नदिएपछि जनतामा जानु नै उपयुक्त हुने भएकाले प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताउनुभयो । आफु नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुरा गरेका अवसरमा यो अवधिमा सरकारले गरेका कामका बारेमा जानकारी दिनुहुदै प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा संसदमा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम समेत भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्न नपरोस भनेर वर्षदिनदेखि गरिरेको प्रयास संभव नभएका कारण प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जान बाध्य भएको स्पष्ट समेत पार्नुभयो । प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जादा कसरी प्रतिगमन हुन्छ भन्ने प्रतिप्रश्न गर्नुहुदै निर्वाचन तोकिएकै समयमा नै हुने बताउनु भयो ।
सिंहदरबारबाट सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले सरकार गठनपछिको पहिलो वर्षमा ७ प्रतिशत र दोस्रो वर्षमा ७ प्रतिशत भन्दा बढी आर्थिक बृद्धिदर हासिल गर्न सफल भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि पुन उच्चदरमा आर्थिक वृद्धि हुनेगरी अर्थतन्त्र चलायमान भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष भित्रै कर्मचारी समायोजन सकेको, सरकार गठन भएयता ८९ वटा कानुन निर्माण गरिएको र संयौ कानुन संविधान अनुसार संशोधन गरेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले कोभिडको महामारिको समयमा पनि मुल्य बृद्धि ५ प्रतिशत भन्दा माथि नगएको बताउनुभयो ।
उहाँले सिंहदरवार पुर्ननिर्माण पश्चात उद्रघाटन भएको, रानीपोखरी पुर्ननिर्माण कार्य सम्पन्न भएको, धरहरा पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको र पुर्ननिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले यसअवधिमा ४.८ प्रतिशतले आयात घटेको, ६.१ प्रतिशत निर्यात बढेको बताउनु भयो । प्रधानमन्त्री ओलीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८ प्रतिशत भन्दा बढी भैसकेको, पोखरा अन्तराष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य ७० प्रतिशतभन्दा बढी भैसकेको बताउदै कोभिड महामारी नभएको भए यि दुवै विमानस्थल हाल सञ्चालनमा आइसक्ने थिए भन्नुभयो । उहाँले वर्तमान सरकार गठन भएपछी विद्युत उत्पादन बढाएर ३३३ मेगावाटबाट १४३० मेगावाट पु¥याएको र माथिल्लो तामाकेशीको काम ९८ प्रतिशत पुरा भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले सरकारले सवै विद्यालय र स्थानीय तहमा इन्टरनेट पु¥याउने निर्णय गरेको, भ्रष्टाचार विरुद्धको अभियानमार्फत उपलब्धी हासिल गर्न सकिएको, रेल सञ्चालनमा आउनै लागेको समेत बताउनु भयो ।