काठमाडौ- संसद विघटनविरूद्ध परेका रिटमा पक्ष-विपक्षका वकिलहरूको बहस सकिएपछि आजदेखि एमिकस क्युरीको बहस सुरू भएको छ ।मंगलबार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले राय दिन सुरू गरेका छन्। मंगलबार दिनभर इजलाससमा राय राखेका उनले प्रधानमन्त्रीलाई विघटनको अधिकार भए पनि अहिलेको विघटन सिफारिस संवैधानिक मान्न नसकिने बताए । तर, प्रधानमन्त्रीलाई विघटनको अधिकार भने रहेको उनको भनाइ थियो ।
कार्कीका केही तर्कले अहिलको विघटन असंवैधानिक भन्ने रिट निवेदकको जिकिरसँग मिल्दो थियो भने प्रधानमन्त्रीलाई विघटनको अधिकार रहेको भन्ने तर्क प्रधानमन्त्री र सरकारी वकिलको दाबीसँग मिल्दो थियो । पार्टीको सचिवालयमा भएको विवादका कारण गरिएको अहिलेको विघटनको उद्देश्य दुराशयपूर्ण पनि देखिएको उनको निष्कर्ष थियो ।
एमिकस क्युरीको काम मुद्दाको फैसला गर्न इजलासलाई सहयोग गर्ने हो। सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।