काठमाडौँ- पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गर्नुभयो ।प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ ।
विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उहाँले जानकारी दिनुभयो । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ ।
सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । पूजा गर्न २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो ।