काठमाडौँ ३० असार । काठमाडौं उपत्यकाको खानेपानीमा दिशामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र काठमाडौँ खानेपानी लिमिटेडले गरेको अध्ययनमा उक्त तथ्य फेलापरेको हो। जसका कारण राजधानीमा दैनिक २५ जना झाडापखाला भएर अस्पतालसम्म पुग्ने अध्ययनले देखाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका १५ अस्पतालमा गरेको अध्ययनअनुसार उक्त तथ्यांक पाइएको बताएको हो। यस्तै, जेठ महिनामा मात्र काठमाडौँ उपत्यकामा दुई हजार जनालाई झाडापखाला भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। वर्षायाम सुरु भएको हुँदा बिरामी ह्वात्तै बढ्न सक्ने जोखिम रहेको छु, उनले भने, यसका लागि कार्यालयले सरसफाई, पानी शुद्धीकरण तथा जनचेतना बिस्तारलगायतका कार्य गर्दै आएको छ।
राजधानीको ६६ प्रतिशत पानीमा कोलिफर्म
वर्षायामसँगै उपत्यकाको पानीमा झाडापखाला तथा हैजा फैलाउन सक्ने कोलिफर्म अत्यधिक पाइएको छ। उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका घरमा प्रयोग हुने खानेपानी परीक्षण गर्दा ७० प्रतिशतसम्म हैजा र झाडापखाला सार्ने जीवाणु पाइएको हो। उपत्यकावासीको खानेपानीमा पाइएको कोलिफर्म जीवाणु दिसामा पाइने जीवाणु हो, जुन जीवाणुले हैजा तथा झाडापखाला सार्ने गर्दछ। काठमाडौँवासीले प्रयोग गर्दै आएको पानीमा ६६ प्रतिशत कोलिफर्म भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख डा। महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाको पानीमा कोलिफर्म भएकोले पानीलाई उमालेर खानुपर्ने बताए। धाराको पानी, ट्यांकरको पानी र जारकै पानी भए पनि पानी प्रदूषित हुनसक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाएका कारण यस्तो समस्या देखिएको उनले बताए।