काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद् विघटन हुने बताएका छन् । राष्ट्रपति विद्या भण्डारीले डाकेको सर्वदलीय बैठकमा पुगेका प्रधानमन्त्रीले प्रतिनिधिसभा पुन:स्थापित भएपछि पनि सहज रुपमा चल्न नदिने प्रयास भएको भन्दै सरकार र संसद् चल्न नदिए फेरि पनि विघटन गरेर चुनाव घोषणा गर्ने चेतावनी दिएका छन् । “प्रतिनिधिसभा चल्न नसक्ने भएपछि विघटन गरेर ताजा जनादेशका लागि चुनाव घोषणा भएको थियो,” प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भेटमा सहभागी नेमकिपा सांसद प्रेम सुवालले भने, “सरकार सर्वोच्चको आदेश मान्छ, तर संसद् चल्न नदिने प्रयास भयो भने फेरि पनि संसद् विघटन हुन्छ । त्यसको अर्को विकल्प छैन ।” उनले हरेक संस्था विघटन हुने भन्दै विघटन गरेर चुनावमा जाने कुरा प्रतिगमन नहुने बताएका थिए ।
राष्ट्रपति भण्डारीले बैठकमा सरकारले लिम्पियाधुरासम्मको नक्सा छापेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी थिइन् । शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको भन्दै चिन्ता व्यक्त गरेकी राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असरका विषयमा समेत चिन्ता व्यक्त गरेकी थिइन् । कोभिड-१९ का कारण चाहेर पनि दलहरुसँग भेटघाट गर्न नपाएको बताएकी राष्ट्रपति भण्डारीले त्यही कारण आज बैठक डाकेको भन्दै सर्वदलीय बैठकको औचित्य पुष्टि गरेकी थिइन् ।