२०८२ जेठ ७ गते | 20th of May 2025

एमालेको नेपाल समूहको भेलाले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ५ गते १५:३४

काठमाडौं –  नेकपा एमालेको माधव नेपाल समूहको दूई दिन सम्म चलेको  भेलाले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।

भेलाको अन्तिम दिन बिहीबार भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भुसालले भने, ‘अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँछौं ।’ पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताए ।

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे विशेष प्रस्ताव पास गरेको छ । त्यसको निष्कर्ष पनि २ जेठ २०७५ सम्म कायम भएका पार्टी कमिटी, जनवर्गीय पेशागत कमिटी, केन्द्रीय विभाग र सम्पर्क मञ्च लगायतका सबै कमिटीलाई सक्रिय बनाउनु रहेको भन्दै सचिव योगेश भट्टराईले भने, ‘केपी ओली समूहबाट त्यसमाथि षड्यन्त्र हुँदैछ, हामी त्यो कमिटीको बदलामा बनाइएका कुनै पनि संरचना स्वीकार गर्दैनौं ।’भेलाले ‘जनताको बहुदलीय जनवादलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ नवौं महाधिवेशनको कार्यदिशालाई पक्रिने र देशभर पार्टीका भेला, बैठक, प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत गरेको सचिव भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *