२०८१ वैशाख २२ गते | 4th of May 2024

युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तको भनाई

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ९ गते १५:३६

पेरिस- कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताउनु भएको छ । युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ ।
कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड सङ्क्रमण तिब्र रुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनीयतामाथि शङ्का उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।
युरोपेली आयोगका आयुक्त थिएरी ब्रेटोनले जुलाई १४ सम्ममा अर्थात् अबका चार महिना भित्रमा युरोपमा रोगप्रतिरोधी क्षमता (इम्युनिटी) तयार हुने बताउनु भएको छ । फ्रान्सेली प्रशारक टिएफ सँग कुरा गर्दै उहाँले भन्नुभयो, “कोरोना महामारीलाई परास्त गर्न एउटा मात्रै उपाय छः त्यो हो खोप । अहिले बजारमा खोप उपलब्ध हुनेक्रम बढेको छ ।”
फ्रान्सको एक तिहाईभन्दा बढी जनसंख्या अहिले लकडाउनमा छ भने लकडाउन र कडा प्रतिबन्धका विरुद्धमा जर्मनी, आम्स्टर्डम, बुल्गेरिया र स्वीट्जरल्यान्डमा प्रदर्शन भइरहेका छन् । रगत जम्ने समस्या देखिएको आशंकामा अस्ट्राजेनिकाको खोप लगाउनेक्रम स्थगित भएको र युरोपेली मुलुकमा अस्ट्राजेनिकाको खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको छ ।
तर युरोपेली औषधि नियामक निकायले अस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरु भएको छ । आयुक्त ब्रेटोनले यही मार्च र जुन महिनाबीचको अवधिमा युरोपमा कम्तीमा ३० देखि ३५ करोड डोज खोप उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले युरोपमा ५५ वटा कारखानाबाट खोप उत्पादन हुने भएकाले पनि खोपको उपलब्धतामा समस्या नरहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *