२०८१ साउन १२ गते | 27th of July 2024

कोरोना संक्रमण बढेको भन्दै होली पर्व घरमै मनाउन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अपिल, प्रधानमन्त्रीले गरे कार्यक्रम स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ११ गते १३:२८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।  बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’  रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ ।

यसैबीच    कोरोना सङ्क्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली  विराटनगरमा हुने कार्यक्रममा नजाने भएका छन ।  प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर  जाने   कार्यक्रम थियो । विराटनगरको वीरेन्द्र सभागृहमा कार्यक्रम राखिएकाो थियो । तर केही दिनयता विराटनगरमा कोरोना संक्रमित भेटिन थालेको र बुधबार एकै दिन १० जनामा संक्रमण पुष्टि भएपछि कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले) प्रदेश १ का कमिटी सचिव विनोद ढकालले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *