२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई अर्थ संकलन अभियान शुरु गर्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ११ गते १४:०६

लन्डन- राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उदेश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अर्थ संकलन अभियान शुरु गरेको छ । कम्तिमा एक करोड रुपियाँ सँकलन गर्ने लक्ष्य एनआरएनले लिएको छ । एनआरएनएले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग एनआरएनएका पूर्व तथा वर्तमान अध्यक्ष एव्म पदाधिकारीले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, पूर्व उपाध्यक्ष कुल आचार्यले पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रममा २५ लाख उठेको र बाँकी रकम उठाउनका लागि एनआरएनएका शाखाहरुमा सर्कुलर गरिने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

विदेशमा आफुले सिकेको सीपलाई आविष्कार केन्द्रमा गएर पुनः प्रयोग गर्ने अवसर पुनले दिएको उल्लेख गर्दै अध्यक्ष पन्तले आफूलाई नेपालको भविष्य यही केन्द्रसँग जोडिएको छ भन्ने महसुस भएको बताउनुभयो । एनआरएनएका एसिया क्षेत्रीय उपसंयोजक पारसमणि पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा डा. महावीर पुनले आविष्कार केन्द्रको ‘भर्चुअल टुर’ गराउनु भएको थियो । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले रकम अभाव भएको नठानी काम गर्नु नै पुनको महानता भएको बताउनुभयो ।

त्यस्तै पुनले डा. महतोलाई वायोमेडिकल क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो । एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनएसँथ सहकार्य गर्न राष्ट्रिय आविष्कार केन्द्र एक भरपर्दो सहयात्रीको रुपमा रहेको उल्लेख गर्नुभयो । अर्का पूर्वअध्यक्ष भवन भट्टले जापानले उपभोक्ताले रुचाउने वस्तु उत्पादन गरेर मुलुकलाई धनी बनाएको उल्लेख गर्नुभयो ।

आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्यले संयुतअधिराज्यमा गठित ’फ्रेन्ड्स अफ एनआइसी नेपाल’ का अध्यक्ष हरिकृष्ण न्यौपानेले केन्द्रले गरेका कामहरुको डेटाबेस तयार पार्ने काम पूरा भैसकेको जानकारी दिनुभयो । नेपालमा इन्टरनेट र बिजुली नभएका ठाउँका विद्यार्थीहरुलाई पठनपाठनमा सघाउने उदेश्यले आफूहरुले माइक्रोसफ्ट कम्पनीसँग सहकार्य गर्ने तयारी गरिहरको उहाँले बताउनुभयो ।
अभियानबाट उठेको रकम आविष्कार केन्द्रलाई आवश्यक ठानिएको फलाम तथा स्टील काट्ने लेजर मेशिन खरिदका लागि खर्च गरिने बताइको छ । (गोरखापत्र )

Leave a Reply

Your email address will not be published. Required fields are marked *