२०८१ वैशाख २६ गते | 8th of May 2024

लकडाउनमा पनि १० वटा तारे होटल थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १५ गते १३:१४

काठमाडौं- कोभिड १९ को महामारिले आक्रान्त बनेको समयमा समेत नेपालमा होटल खुल्ने संख्या झन् बृद्धि भएको छ । पर्यटन विभागको तथ्याङक अनुसार लकडाउनको समयमा तारे होटल १० वटा थप भएको जनाएको छ ।

यस वर्ष थप भएका होटल मध्ये पाँचतारे डिलक्समा झापाको मेचीक्राउन, चार तारेमा होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र नान्स होटल सिदर्थनगर रुपन्देही रहेका छन् । यता नयाँ खुलेका दुई तारे होटलमा होटल लोटस जेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर रहेको विभागले जनाएको छ । गतवर्ष पाँचतारे होटलमा मेरियट र अलफ्ट थप भएका थिए । होटलसँगै तीन वटा रिसोर्ट समेत नयाँ लगानीमा खुलेको छ । यसमा तीनतारे स्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट वनेपा र पाँच तारेस्तरको (लक्जरी)चन्द्रगिरी हिल्स रहेका छन् । कोभिड महामारीले पर्यटन व्यवसायमा नराम्रो असर पु¥याए पनि होटल क्षेत्रमा लगानीभने झन् बढ्दै गएको पर्यटन विभाग होटल शाखाका निर्देशक मनबहादुर जिसीले बताउनुभयो । सुविधा सम्पन्न होटलमा लगानी बड्नु आगामी दिनमा पर्यटकका लागि उपयुक्त आधार समेत बनेको उहाँको भनाई छ । हालसम्म नेपालमा १४२ वटा तारे होटल  छन् । जसमा डिलक्स एक, पाँचतारे १५,चार तारे १७, तीनतारे ३३, दुई तारे ४२ वटा र एक तारे ३४ वटा रहेका छन् । अन्य साना होटलको मापदण्ड र अनुगमन संविधानले सम्वन्धित प्रदेश सरकार मातहत रहने तोकेको छ ।
होटलसँगै रिसोर्ट समेत खुल्ने क्रम बढ्दो छ । हालसम्म एक सय दुई वटा तारे होटल स्तरका रिसोर्ट रहेको विभागले जनाएको छ । रिसोर्टलाई विभागले लक्जरी, डिलक्स र साधारण गरी तीन स्तरमाविभाजन गरी मापदण्ड तोक्ने गरेको छ । घनावस्तीबाट टाढा, हरियाली र खुल्ला क्षेत्रसहितको स्थानमा स्थापनाहुने भएकाले पछिल्लो समय होटलमा भन्दा बढी रिसोर्टमा ग्राहकको आकर्षण बढ्दो रहेको पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङ ङिमा शेर्पाले बताउनुभयो ।

यता ठमेलस्थित तीनतारे होटल मनास्लुले भने तारे सुविधा हटाउन माग गर्दै विभागमा निवेदन दर्ता गराएका छन् । यस वर्ष दर्ता विना सञ्चालन गर्दै आएको द्धवारिका होटलले भने बुटिक होटलको दर्जा लिएको छ । विभागले होटल दर्ताका लागि डिलक्सका लागि एक लाख, पाँचतारेका लागि ७५ हजार, चार तारेका लागि ६० हजार, तीनतारेका लागि ४० हजार, दुई तारेका लागि ३० हजार र एक तारेका लागि २० हजार दर्ता शुल्क लिने गरेको छ । (गोरखापत्र  )

Leave a Reply

Your email address will not be published. Required fields are marked *