२०८१ वैशाख २२ गते | 4th of May 2024

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट सुरु गरे

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १७ गते १४:१६

वासिङटन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट (www.45office.com) सुरु गरेका छन् । यो प्लेटफर्म उनका समर्थकहरुसँग सम्पर्कमा रहनका लागि र कार्यालयमा आफूले कसरी समय बिताएको भन्ने प्रस्तुत गर्नका लागि रहेको बताइएको छ । यो वेबसाइटको होमपेजमा ट्रम्पका विभिन्न तस्बिरहरु देख्न सकिन्छ, जसमा उनकी पत्नी मेलानिया, सेनाका सदस्य, राष्ट्रपति हुँदा विश्व नेताहरुसँग विभिन्न समारोहमा लिइएका फोटोहरु पनि छन् । वेबसाइटमा ‘ट्रम्प अफिस’ उनको महान् ट्रम्प विरासतको संरक्षण गर्न र सँगसँगै ‘अमेरिका फर्स्ट’को एजेन्डालाई अगाडि बढाइराख्नका लागि प्रतिबद्ध रहेको भन्ने सन्देश लेखिएको छ ।

यसको ‘अबाउट’ भन्ने अंशमा ८५० शब्दमा ट्रम्पको कार्यकाल अवधिका उपलब्धिबारे व्याख्या गरिएको छ, जसलाई ट्रम्पले प्रायः उल्लेख गर्ने गरेका थिए । सीमा सुरक्षा, अन्तर्राष्ट्रिय गठबन्धन, नाटो र कोरोना महामारीमा उनको प्रतिक्रियाजस्ता विषयबारे यसमा विस्तृतमा लेखिएको छ । तर, अर्कोतर्फ उनका कान्ड, भ्रष्टाचारबारे अनुसन्धान, दुईपटकको महाअभियोग, लोकतन्त्रमाथिको हमलालगायत चर्चामा रहेका विवादास्पद घटनाबारे कुनै उल्लेख छैन । सन् २०२० को निर्वाचनमा हार व्यहोरे तापनि रिपब्लिकन पार्टीमा ट्रम्पको लोकप्रियता अत्यधिक रहेको छ र पार्टीमा उनको प्रभावलाई अझै धेरै महत्वपूर्ण मानिन्छ । यही कारण उनले २०२४ मा फेरि चुनाव लड्ने संकेत पनि दिइसकेका छन् ।

अघिल्लो महिना फक्स न्युजसँगको अन्तर्वार्तामा उनका चुनावी प्रवक्ता जेसन मिलरले ट्रम्ले अबको दुई–तीन महिनाभित्र आफ्नै सोसल मिडिया प्लेटफर्म खोल्ने बताएका थिए । जनवरी ६ मा भएको अमेरिकी संसद्माथि हमलापश्चात् ट्रम्पलाई ट्विटर, फेसबुक र अन्य चर्चित सामाजिक सञ्जालबाट हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *