२०८१ माघ २४ गते | 6th of February 2025

प्रचण्डद्दारा राजनितीक भेटबार्ता तिब्र

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १७ गते १४:३०

काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितीक भेटघाटलाई तिब्रता दिएका छन ।  आज प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो तीन बजेतिर देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो ।  भेटवार्ताबारे देउवाका स्वकीय सचिव भानु देउवाले ‘समसामयिक विषयमा कुराकानी  भएको बताए    । खास प्रस्ताव केही रहेनछ । संसद विघटन विरुद्ध संघर्षमा उत्रिएका दलहरु मिलेर नयाँ सरकार बनाउनु पर्ने भनेर उहाँले पुरानै कुरा दोहोर्याउनु भयो । यो कुरा सधै भएकै हो । फेरि सल्लाह गरेर कुरा गरौंला ।’ उनका अनुसार पहिला सरकारबाट समर्थन फिर्ता लिन देउवाले प्रचण्डलाई सुझाएका थिए । प्रचण्डसँगको भेटमा देउवाले भनेका थिए , ‘पहिला समर्थन फिर्ता लिनुहोस् । त्यसपछि बल्ल नयाँ सरकार गठनबारे प्रक्रिया सुरु हुन्छ ।’

भेटमा प्रचण्डले समर्थन फिर्ता लिने भन्दा पनि अविश्वासको प्रस्ताव दर्ता गराउने कुरामा जोड दिएका थिए । यद्यपि प्रचण्डले समर्थन फिर्ता लिने कुरामा कुनै समस्या नरहेको बताएका थिए । ‘केपी ओली सरकारलाई समर्थन दिराख्न मलाई कुनै रहर होइन । प्रतिगमनविरुद्ध आन्दोलित भएका दलहरुबीच न्युनतम सहमति भएपछि भोलि नै समर्थन फिर्ता लिन सकिन्छ,’ प्रचण्डको भनाइ थियो ।

काँग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव दर्ता वा समर्थन फिर्तापछि नयाँ सरकार निर्माण गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) एक ढिक्का हुन आवश्यक रहेको बताएका थिए । ओली सरकारको विकल्प दिने कुरामा काँग्रेस तयार रहेको तर त्यसका लागि परिस्थिति परिपक्व भई नसकेको देउवाको भनाइ थियो ।  जवाफमा प्रचण्डले त्यो आन्तरिक विषय भए पनि सत्ता समीकरणमा कुनै प्रभाव नपर्ने जनाएका थिए । बूढानीलकण्ठबाट निस्किएर प्रचण्ड जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *