२०८१ साउन १२ गते | 27th of July 2024

दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा गोलीकाण्डमा चार जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १९ गते १४:५०

लस एन्जलस-  संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।
घटनास्थलमा अपराह्न ५:३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउने क्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताउनुभयो । त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिनुभयो ।
घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताउनुभएको छ । अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा  छ र यहाँ करिब एक लाख ४० हजारको बसोबास छ । प्रहरी अधिकृत अमाटले यस शहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिनुभयो । त्यसबखत एक ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरीसहित चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो ।
गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थियाे भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीन वटा मसाज पार्लरमा गोली हानेर छ जना एसियाली मूलका महिलाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *