काठमाडौ – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताएका छन्। आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै नेपालले ओलीले पार्टीलाई गलत बाटोमा लिएको र बालुवाटारमा बसेर तमासा गरेको बताए।
दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्लान् भन्ने अपेक्षा रहेको भए पनि ओली सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न नसकेको बताए। ‘कूटनीतिक सम्बन्ध, जनहित, सुशासन र भ्रष्टाचार निवारणमा केही पनि काम गर्न सकेनन्। तमासामात्र गरिरहेका छन्,’ नेपालले भने, ‘एकैदिन १६५ सडकको शिलान्यास रे! बालुवाटारमा बसेर स्वीच थिचेर शिलान्यास हुन्छ। डिपिआएर भएको छैन, बजेटको व्यवस्था छैन। नाम लेख्न पाइन्छ भनेर शिलान्यास गरेको छ। यो सब तमासामात्रै हो।’ उनले ओलीलाई जताततै नाम लेखाउन मन भए घरको कोठाभरि नाम लेखेर टाँस्न पनि सुझाव दिए। यसअघि प्रधानमन्त्री ओलीले शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकको शिलान्यास गरेका थिए। आजको कार्यक्रममा बोल्दै नेपालले आफूहरूले एमाले पार्टीलाई सही मार्गमा लैजान संगठन पुनर्गठन गरिरहेको बताए। ‘संगठनलाई पुनर्ताजगी बनाउनुछ। ओलीले गलत बाटोमा लिएको पार्टीलाई सही मार्गमा लैजान यो जरूरी छ,’ नेपालले भने। कार्यक्रममा नेता नेपालले ओली दलाल पुँजीवादको साथमा रहेको र आफूहरू त्यसविरुद्ध संघर्ष गरिरहेको बताए । ‘केपी ओली दलाल पुँजीवादको साथमा छन् । हाम्रो लडाइँ पदको तानातनका लागस होइन विचारको लडाइँ हो,’ उनले भने । उनले आफूहरू रहेको पार्टी मूल पार्टी रहेको समेत जिकिर गरे । आफूहरू संगठनात्मक रूपमा कमजोर नरहेको नेता नेपालको दाबी छ । ‘मूल पार्टी यही हो । केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो,’ उनले भने, ‘हामी केपी ओलीले फालेर फालिने मान्छे होइनौं। कसैले प्रधानमन्त्रीको फूर्ति लाउँछ भने त्यसको काम छैन, कसैले संख्यात्मक कुरा गर्छ भने हामी संगठनको हिसाबले कमजोर छैनौं ।’
उनले ओलीविरुद्धको संघर्षमा आफ्ना तीन विकल्प सुनाएका छन्।’हाम्रो सामु अब तीन वटा विकल्प छन्। पहिलो ओलीको टाङमुनि छिर्नु, आत्मसमर्पण गर्नु। दोस्रो राजनीति छाडेर गेरु वस्त्र लगाएर हिँड्नु। तेस्रो केपी ओलीको गलत प्रवृत्ति र कुराविरुद्ध लड्नु। हामी मैदान छाडेर भाग्दैनौँ। गलत कुराविरुद्ध लडिन्छ। पिठ्युँ फर्काएर हिँडिँदैन’, उनले भने, ‘ओलीले प्रतिनिधिसभा सदस्य पद पनि खाइदिन्छु भन्दैछन्। ख्याल गर्नुस् प्रतिनिधिसभा सदस्य पनि चट होला भन्दैछन्। तर केपी ओली आफैँ चट हुनेछन्।’
उनले केपीले पार्टी नै मै हुँ भनेपछि समस्या भएको बताए। ‘ओलीले पार्टी नै मै हुँ भनेपछि समस्या भएको हो। सर्वोच्चले गरेको फैसला राजनीतिक हो। त्यो फैसला राजनीतिक भए पनि हामीले स्वीकारेका हौँ’, उनले भने, ‘२०७५ साल जेठ २ गतेमा हामी पुगौँ भनेका हौँ । तर ओलीले फागुन २८ र चैत ७ मा मनपरी निर्णय गरे, पार्टीलाई विधि विपरीत अघि बढाउन खोजे। त्यहीकारण हामी प्रतिरोधमा उत्रनुपरेको हो।’
उनले नवौँ महाधिवेशनमा आफू ओलीसँग २६/२७ मतले हारेको स्मरण गर्दै ४२ जिल्लामा आफ्नो वर्चश्व रहेको बताए। ‘नवौँ महाधिवेशनमा ओलीको ५१ र मेरो ४९ प्रतिशत थियो। तल्लो तहमा हामी ६० र केपी ४० मात्रै थिए। ४२ जिल्लामा हाम्रो बर्चस्व छ केपी ओलीको छैन।’ उनले केपी ओलीले मनपरी गर्दै गएको भन्दै अब अति भइसकेकाले सहन नसकिने बताए। अध्यक्ष ओलीले नेपालसहित उनको समूहका नेताहरूलाई केही दिनअघि ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए। नेपालले ओलीको उक्त कारबाहीबाट आफूहरू नडराउने बरू डटेर लड्ने बताए। (सेतोपाटी )