काठमाडौँ – सरकारले चीनद्वारा अनुदान प्राप्त कोरोना भाइरस विरुद्धको खोप यही २५ गतेदेखि लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले चीनद्वारा प्राप्त भेरोसेल खोप यहीँ २५ गते देखि काठमाडौँ स्थित तोकिएका अस्पतालहरूमा लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमले खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थी, हिमालय व्यापारमा संलग्न र चीनमा अध्ययनको तयारीमा रहेका व्यक्तिहरूलाई लगाइने निर्णय भएको जानकारी गराउनुभयो ।यस्तै, आज देशभर १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ५६ वटा नमूनाको परिक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।