नर्थ क्यारोलिना – विवादका विच एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे महिनाको २९ र ३० तारिखमा सम्पन्न गरिने सुचना जारी गरिएको छ । जुलाईमा आयोजना गरिने अनुमान गरिएको निर्वाचन अब मे महिनामा हुने जनाईएको छ । तर विवाद सतहमा आएको छ, अर्को । एनआरएनए अमेरिकाका अध्यक्ष लगायतका आकांक्षी पदाधिकारीहरुको चुनावी प्रचार-प्रसार भने निरन्तर छ, युद्दस्तरमा ।
आफ्नो चुनावी प्रचारको शुरुवात लस एन्जलसबाट शुरु गरेका अध्यक्ष पदका बलिया प्रत्यासी कृष्ण लामिछानेले दोस्रो कार्यक्रम सान्फ्रान्सिस्कोमा सम्पन्न गर्दै एक हप्ताको बिश्रामपछी हिजो नर्थ क्यारोलिनामा भब्य भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेका छन । सामुदायिक भेटघाट तथा छलफलको कार्यक्रमका लागि नेपालीहरुको बसोबास रहेको अमेरिकाका सबै मुख्य शहरमा पुग्ने कार्यक्रम सार्वजानिक गरेका लामिछाने तथा उनको समुहले नर्थ क्यारोलिनामा आयोजना गरेको हिजोको कार्यक्रमले आफुहरुलाई थप बल र हौसला मिलेको लामिछानेले बताएका छन ।
नर्थ क्यारोलाइनाको मोरिसभिल नगरमा आयोजित कार्यक्रममा अध्यक्षका प्रत्यासी लामिछानेले ‘अबको आफ्नो समय एनआरएनए अमेरिकाको सुधारका लागि अर्पिने’ बताए । एनआरएनए अमेरिका सदस्यहरुको प्रमाणीकरण सम्पन्न नगरी चुनावी कार्यक्रम घोषणा गर्नुमा शंका रहेको जनाउंदै लामिछानेले ‘कोठरीबाट चल्ने एनआरएनएलाई समुदायमा ल्याउन’ आफु अध्यक्ष पदमा निर्वाचन लडेको प्रष्ट्याए । ‘राजनितीमात्र गर्ने संस्थालाई सामुदायिक सेवाको पवित्र कार्यमा मात्र समर्पित गराउनेछु’ लामिछानेले बताए ।
‘सदस्यहरुको प्रमाणिकरणको कार्य सम्पन्न नहुंदै चुनाव घोषणा गर्न आयुक्तलाई किन हतारो ?’ हिजो घोषणा गरिएको एनआरएनए अमेरिकाको निर्वाचनप्रती ईंगित गर्दै लामिछाने गर्जिए । ‘कोठरीबाट चल्ने आयुक्तलाई फेरी भन्छु, राजिनामा नदिने नै हो ?’ लामिछानेले ‘एक्सल शीट पढेर निर्वाचनको परिणाम पढ्ने दिन गए’ भन्दै कम्तिमा जिम्मेवारीको नैतिकता निर्वाह गर्न आग्रह गरे । लामो समयदेखी टेक्सासलाई कर्मभुमी बनाएका लामिछानेले नर्थ क्यारोलाईना नेपाली समुदायको ममता र सद्भावका लागि आभारी रहेको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका सम्भावित विजेता कृष्णजिवी पन्थले ‘धोखाघडी, गुटबन्दी र आईसिसीको चुनावको लागि आफ्ना तर्फ प्रतिनिधीहरु पार्न मात्र गरिने राजनीति अब तोडिने’ बताउंदै एकताको बलले अबको एनआरएनए हिजोको जस्तो किचंगिलो नहुने बताए । ‘लिन होईन, दिनकै लागि आफु एनआरएनए अभियानमा लागेको बताउंदै एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष पन्थले ‘आईसिसीसंग पैंठोजोरी नखेल्ने एनआरएनए अमेरिका बनाउने’ बताउंदै नर्थ क्यालाईना नेपाली समुदायको अपार प्यारका लागि आभारी रहेको बताए ।
नर्थ क्यारोलाईनाका स्थानिय वासिन्दा तथा एनआरएनए अमेरिका महासचिव पदका बलिया प्रत्यासी तथा नेजसका नेता बिनोद भट्टले स्थानियस्तरमा आयोजित कार्यक्रमप्रती आफ्नो समुहलाई प्राप्त माया र हौसलाको प्रशंशा गर्दै संघारमा रहेको निर्वाचनको विश्वसनीयतामाथि प्रश्नहरु उठेको जनाउंदै एनआरएनए अमेरिकाको गरिमा बचाउने भूमिका खेल्न सबैलाई आग्रह गरे । ‘संस्थाको इज्जत बढ्ने कार्य गरौं, राजनीतिको रंग पोतेर विवादको भुमरीमा संस्थालाई भढ्खालोमा हाल्ने काम बन्द गरौं’ भट्टले बताए ।
कार्यक्रममा नगर प्रमुख, नासियाका अध्यक्ष विनय अर्याल, जनसम्पर्क समितिका चिरञ्जिबी भट्टराई, स्थानीय अगुवाहरु इश्वर देवकोटा, ठाकुर कार्की, हरिहर भट्टराई लगायत नर्थ क्यारोलाईनाको प्राय: सम्पूर्ण नेपाली समुदाय, तिनका पदाधिकारीहरु तथा सामुदायिक सदस्यहरुले लामिछाने समुहलाई शुभकामना दिएका थिए ।