२०८१ चैत १ गते | 15th of March 2025

कोरोना भाइरसको नयाँ प्रजाति बेलायती भेरियन्टको संक्रमण समेत बढ्न थालेको भन्दै उच्च सर्तकता अपनाउन सरकारको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २५ गते १४:२०
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दरका उच्च रहेको क्षेत्रमा आवागमनमा कडाइ गर्न तथा रोकथामका अन्य उपायहरू कडाइका साथ लागु गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ । मन्त्रालयले  एक सूचना जारी गरी ठुला शहरहरूमा ५ सय जना भन्दा बढी र साना शहरहरूमा एक सय जना भन्दा बढी सक्रिय संक्रमित भएमा ती स्थानको आवागमनमा कडाइ गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सूचनामा राति ९ बजेपछि सबै रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू कडाइका साथ बन्द गराउन पनि अनुरोध गरिएको छ । यसै गरी मन्त्रालयले शहरी क्षेत्रमा कोरोना भाइरसको नयाँ प्रजाति बेलायती भेरियन्टको संक्रमण समेत बढ्न थालेको हुनाले विद्यालय, सार्वजनिक यातायात, सपिङ मल तथा मानिसको भिडभाड हुने अन्य स्थानहरूमा उच्च सतर्कता अपनाउन समेत सबैलाई आग्रह गरेको छ ।
 मन्त्रालयले विदेशबाट आएका व्यक्तिहरूलाई तोकिएको मापदण्ड अनुसार घरमा क्वारेनटाइन बसे–नबसेको निगरानी गरी क्वारेनटाइन तथा आइसोलेसनको मापदण्डलाई कडाइका साथ लागू गराउन स्थानीय तह एवं स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।
सार्वजनिक स्थानमा मास्कको प्रयोग लगायत कोरोना रोकथाम तथा नियन्त्रणका मापदण्डहरू पालना नगर्ने व्यक्तिलाई संक्रमक रोक नियन्त्रण ऐन बमोजिम कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *