काठमाडौं – कुखुराको उत्पादनमा कमी आउन थालेपछि मासुको मूल्य हालसम्मकै उच्च भएको छ । पछिल्लो समय कुखुराको मासुको मूल्य क्रमिक रुपमा बढ्न थालेको हो । राष्ट्रिय कुखुरा व्यवसायी संघले मंगलबारदेखि बजारमा लागु हुने गरी जिउँदो कुखुरामा प्रतिकेजी १० रुपैयाँ र मासुमा प्रतिकेजी १० रुपैयाँ बढाएको छ । संघले मासुको उपभोक्ता मूल्य चार सय रुपैयाँ तोकेको छ । हाल जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी २ सय ९० रुपैयाँ भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । जिउँदो कुखुरा र मासुको मूल्य हालसम्मकै उच्च भएको संघले जनाएको छ ।
सोमबारसम्म बजारमा जिउँदो कुखुरा प्रतिकेजी २ सय ८० र तयारी मासु प्रतिकेजी ३ सय ९० रुपैयाँमा बिक्री हुँदै आएको थियो । संघका अनुसार यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो । मासु प्रतिकेजी ३ सय ९० रुपैयाँमात्र तोकिएको थियो । गत लकडाउनको समयमा ह्याचरी संघले ठूलो परिमाणमा अण्डा, चल्ला र कुखुरा नष्ट गर्दा पनि मूल्य यसरी महंगो भएको थिएन । त्यति बेला प्यारेन्ट कुखुराको आयात भइसकेकोले उत्पादनसँगै बजारमा आपूर्ति सहज थियो । कोभिड पछि प्यारेन्ट कुखुराको आयात रोकिएयता उत्पादन बढ्न सकेको छैन । एक बर्षदेखि प्यारेन्ट आयात नहुँदा र हाल उत्पादन भएका कुखुराहरु रोगका कारण मर्न थालेपछि मूल्य लगातार बढ्न थालेको अध्यक्ष बिसीले बताए ।