२०८१ वैशाख २० गते | 2nd of May 2024

देउवाको नेतृत्वमा सरकार बनाउने काँग्रेसको प्रस्तावमा माओवादीको समर्थन, जसपाले समय माग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २७ गते १४:५०

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्। यो प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ।

शुक्रबार अपरान्ह बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राखेका थिए। आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए। यही बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पहिलोपटक औपचारिक रूपमा राखेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो। पार्टीले सरकार बनाउन ढोका खोलिदिएको एक सातापछि देउवाले आज तीन दलको बैठक राखेका थिए। बैठकको सुरूमै देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्दै अन्य दलबाट समर्थन खोजेका थिए।देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय माग गरेको छ । अर्को बैठक छिटै बस्ने गरी  आधा घण्टामै सकिएको थियो। बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेसबाट सरकार बनाउने प्रस्ताव आएको बताए। ‘कांग्रेसबाट सरकार बनाउन पहिलोपटक प्रस्ताव आएको छ, यसबारे हामीले पार्टीमा छलफल गर्नुपर्नेछ,’ उनले भने। पार्टीका नेताहरूलाई लगाइएका मुद्दा फिर्ता लिनेबारे प्रधानमन्त्री ओलीसँग पनि कुराकानी भइरहेको उनको भनाइ थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *