लस एन्जलस – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापती आनन्द बिष्टले आफु यो संस्थाको अधिबेशन गर्न आतुर रहेको बताए । कोरोना कहरले अल्झाएको सामाजिक भेटघाट क्रमश: खुकुलो बन्दै गएको अवस्थामा लस भेगसमा आयोजित एनआरएनए अमेरिकाको बैठकमा ‘कांग्रेस समर्थक तीन तीन उमेदवारहरुलाई मिलाउन सकिन्छ कि’ भनेर अनौपचारिक वार्ताका लागि न्यूयोर्कबाट हिडेका बिष्ट भ्रमणका क्रममा लस एन्जलस आएको अवसर पारेर आयोजित भेटघाट कार्यक्रममा ‘पार्टीको कारणले रोकिएको नेजसको अधिबेशन गर्न आफु हरेकपल प्रयासरत रहेको’ बताए ।
नेपाली जनसम्पर्क समिती, साउदर्न क्यालिफोर्निया च्याप्टरद्दारा आयोजित भेटघाट कार्यक्रममा सभापती बिष्टले ‘महाभुकम्प, पार्टीको अधिबेशनको अल्झन, पार्टीको आन्तरिक किचलो, कोरोना कहर लगायतका बिषयले अल्झाएको नेजस अमेरिकाको अधिबेशन ढिलो हुनुमा आफु र कार्यसमितिको कुनै दोष नरहेको’ बताए । ‘मेरा कारणले नेजसको अधिबेशन नभएको होईन । अमेरिकामा नबुझ्ने कोही हुनुहुन्न, समाजवादको कसम खाएका प्रजातन्त्रवादीहरुले आफु सम्बद्ध संस्थाको आन्तरिक हालत नबुझ्ने कुरै आउंदैन ।’ सभापती बिष्टले थपे,’यतिका बर्षसम्म म रहरले पद ओगट्ने मान्छे होईन । यथाशाक्य अधिबेशन हुन्छ । बरु अब कृयाशिल सदस्यता र अधिबेशनको तयारीमा लाग्न म यहाँंहरुलाई हार्दिक अपिल गर्दछु ।’

नेजस साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठकको सभापतित्वमा आयोजित भेटघाट कार्यक्रममा बिष्टले पार्टी अब अधिबेशन तयारीको अन्तिम चरणमा पुगेकाले पार्टी अधिबेशन अगाडी पार्टी आवद्ध सबै संस्थाको अधिबेशन गर्नुपर्ने भएकोले कसैले अब नेजसको अधिबेशन गर्न रोक्न नसक्ने जनाए ।
नेजसका नेता तथा पशुपती बुद्ध मन्दिरका अध्यक्ष मुकुन्द ढुंगाना, नेजस नेता सन्जिव श्रेष्ठ लगायत स्थानियहरुको उपस्थिती रहेको कार्यक्रममा बिष्टले ‘केही स्वार्थले संस्था बाहिर रहेका साथीहरुलाई पार्टीको अधिबेशनको ऐतिहासिक अवसरमा अब हुने नेजसको अधिबेशनमा एकताको सन्देश दिने कार्यमा सरिक हुन’ आग्रह गरे ।