२०८१ वैशाख ३१ गते | 13th of May 2024

एमालेका ४ सांसदले जोगाईदिए कर्णालीका मुख्यमन्त्री शाहीको पद

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३ गते १३:५८

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको पक्षमा मतदान गरेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रबार भएको मतदानमा माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

मतदानअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मतदानअघि केन्द्रमा विवाद भए पनि कर्णाली प्रदेशमा एमाले एकताबद्ध भएको जिकिर गरेका थिए । तर, चार सांसदले फ्लोरक्रस गरेसँगै मुख्यमन्त्री बन्ने कडेँलको इच्छामा ब्रेक लागेको छ । अन्तिम समयसम्म मौन रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा  मतदान गरेको थियो । केन्द्रको निर्णयपछि कांग्रेस पक्षमा मतदान गर्ने निणय गरेको थियो ।  १ मत रहेको राप्रपा भने तटस्थ बसेको थियो । मतदानमा ३७ मध्ये २२ जनाले शाहीको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका थिए । कर्णालीमा एमाले सभामुखसँगै २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसको ६ र राप्रपाका एक सांसद छन् । एमाले र इतरपक्षसँग १९, १९ मत रहेकाले सभामुख निर्णायक हुँदा आफ्नो सरकार बन्नेमा ढुक्क रहेको एमाले ढुक्क थियो । गत चैत ५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । एमालेका तीन मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए ।

पार्टीमा विवाद हुँदा पनि कर्णालीमा एमाले एक रहेको सन्देश दिएको कतिपयले बताएका थिए । तर, अन्तिम समयमा नेपाल पक्षले माओवादीलाई साथ दियो । कर्णाली प्रदेशमा फ्लोर क्रस (संसदीय दलको ह्वीप) उलङ्घन गर्ने चार सांसदलाई एमालेले कारबाही गरेको छ । दुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको छ ।उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा मत हाल्न फ्लोरमा जाने देवी ओलीलाई भने चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *