२०८१ वैशाख ३१ गते | 13th of May 2024

सर्बदलिय बैठकमा कोभिड-१९, उपनिर्वाचन र एमसीसीका विषयमा छलफल

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ४ गते १५:२२

काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड-१९, उपनिर्वाचन र एमसीसीको विषयमा छलफल भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा यी तीन विषय अघि सारेका थिए । कांग्रेसले ती विषयमा आफ्नो धारणा स्पष्ट रुपमा राखेको उनले बताए ।

“कोभिडका बारेमा सरकार अझ गम्भिर हुनुपर्यो । लकडाउनतिर जानुभन्दा रोकथामतिर जानुपर्छ । कोभिडका लागि आइसोलेसन पनि आवश्यक मात्रामा बनाएर राख्नुपर्छ । लकडाउनै गरी हाल्ने कुरा राम्रो हुँदैन,” बैठकमा राखेको धारणबारे पौडेलले भने । कांग्रेसले उपसभामुख चयन, राष्ट्रिय सभा बैठकका विषयमा पनि धारणा राखेको उनले बताए । “उपनिर्वाचन पनि गर्नुपर्छ, उपसभामुखको निर्वाचन पनि किन रोकिएको छ ?, संसद्लाई बिजनेस किन दिइएको छैन ? राष्ट्रिय सभा बैठक किन बोलाइएन, संसद्लाई अपाङ्ग किन राखियो ?,” उनले भने । अहिले देशमा भइरहेको गतिरोधको निकास हुनुपर्ने पौडेलले बताए ।

बैठकबारे जानकारी  दिदै   नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति दलका नेताहरुले  दिएको  जानकारी  दिए  । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाउने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी  दिए । सरकारले आगामी मङ्सिरसम्म उपनिर्वाचन गर्ने तयारी थालेको बुझिएको छ । एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको  ज्ञवालीले जानकारी  दिए   । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री बिमलेन्द्र निधी, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल लगायतको सहभागिता रहेको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरू भने अनुपस्थित रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *