काठमाडौं- २०७२ बैशाख १२ गतेको भुकम्पले ढलाएको धरहरा पुननिर्माण पछिको स्वरुपको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दघाटन गरेका छन । पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने भन्दै घरघरमा दिपावली गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण भएर बलियो भएको भन्दै यो एउटा खुसी र हर्सोल्लासको समय भएकाले जनताहरूलाई दिपावली गरेर खुसी साट्न सुजाएका हुन्।

अहिलेको नयाँ धरहरा निर्माणमा सबै सुरक्षित र सबल सामग्रीहरुको प्रयोग गरिएको हुनाले अब धरहरा कहिल्यै नढल्ने प्रधानमन्त्री ओलीले ठोकुवा गरे । उनले नयाँ धरहरा निर्माणसँगै धरहरा भत्कँदा भएको सबै क्षतिको परिपूर्ति गर्ने बाटोमा सरकार लागेको पनि उनले बताए ।प्रधानमन्त्री ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन्। अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए ।
धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘देशभित्र र बाहिर रहेका थुप्रै नेपालीहरुको २४ रुपैयाँ यसमा सहयोग परेको छ । त्यसैले जनताका थुप्रै भावनाहरु यसमा मिसिएका छन् । यो हाम्रो भावनासँग जोडिएको छ, हाम्रो गौरवसँग जोडिएको छ ।’पुनर्निर्मित धरहरा ८६.८५ मिटर अग्लो बनेको छ । पुनर्निर्मित धरहरा पहिलेको भन्दा करिब २५ मिटर अग्लो र मजबुत बनेको छ । धरहरा बनाउनका लागि प्रयोग भएका सबै सामग्री बलियो र टिकाउ रहेको दाबी गरिएको छ । प्रधानमन्त्री ओलीले भने, ‘मैले देखे, राति पनि यसलाई लिप्ने, पोत्ने, बढार्ने कामहरु भइरहेका छन् । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’ ‘हामीले बनाउने हो देश र हामी बनाउन सक्छौं । हामी सहयोगापेक्षी भएर बस्ने होइन, हामी कर्मठ भएर बस्ने हो,’ पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जाति भिखमंगा हुन सक्दैन । दान गर्ने दाता जाति हो, भिखमंगा होइन । त्यसकारण देशलाई दाताको हैसियतमा उठाउन हामीले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाउने परिवारका एक जनालाई रोजगारी दिने बताएका छन्। उनले भूकम्पले भत्काएको धरहरामा ज्यान गुमाउने परिवारका एक जना सदस्यलाई यही धरहरामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए। ‘धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्छौं’, प्रधानमन्त्री ओलीले भने,‘यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।