२०८१ साउन १२ गते | 27th of July 2024

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिन ‘ह्याप्पी माइन्डस्’

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १६ गते ४:३०

मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’को शुरुआत गरिएको छ। काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा शुरुआत गरिएको हो।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको यो सेवाले मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ।

‘ह्याप्पी माइण्डस्’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।

गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले यसको औपचारिक उद्घाटन गर्दै युवाहरुलाइ अनिवार्य रुपमा ध्यान गर्न सुझाव दिइन्। संगीतले पनि थेरापीको काम गर्ने बताउदै उनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन्। उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै सफलताको कामना पनि गरिन्।

‘महामारीका बेला मानसिक स्वास्थ्य समस्या’

मनोचिकित्सक डा सुरज शाक्यको नेतृत्वको ह्याप्पी माइण्डसमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन्।

डा शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउंदै रोजगारदाताहरुलाइ आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाइ आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन आग्रह गरे।

ह्याप्पी माइन्डस्की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि यो सेवा शुरु गरिएको बताइन्।

‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्डस् शुरु गरिएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *