काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए। छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत थिए। छलफल सकेपछि पत्रकारहरूसँगको कुराकानीमा सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको बताए। तर सहयोग गर्न नसकिने जवाफ दिइएको उनको भनाइ छ।