२०८१ वैशाख २६ गते | 8th of May 2024

नेपालमा नियमित हवाई उडान बन्द पछि यस्तो छ नियम

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २४ गते १४:२५

काठमाडौं – कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणको प्रयास स्वरूप सोमवारदेखि आन्तरिक उडानहरू स्थगित गरेको नेपालले बिहीवार मध्यरातबाट नियमित अन्तर्राष्ट्रिय उडानहरू पनि बन्द गरेको छ।  हवाई उडानबारे मन्त्रिपरिषद्‌ले यसै साता गरेको निर्णयलाई कार्यान्वयनमा ल्याइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

गत आइतवार मन्त्रिपरिषद्‌को बैठकले वैशाख मसान्तसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निर्णय गरेको थियो।  त्यसैगरी सरकारले अहिले भारतसँग ३५ मध्ये १३ वटा नाकाबाट मात्रै आवतजावत गर्न पाइने व्यवस्था गरेको छ। मन्त्रालयस्थित नागरिक उड्डयन तथा हवाई महाशाखाका सह-सचिव बुद्धिसागर लामिछानेका अनुसार नियमित उडानहरू स्थगन भए पनि केही उडान चाहिँ गर्न पाइन्छ। “अन्तर्राष्ट्रिय हकमा कार्गो र मेडिकल चार्डर्ट उडान हुन्। यात्रुका लागि चार्डर्ट गर्न थाल्ने हो भने उडान गराउन राज्यले ठूलै संयन्त्र परिचालित गर्नुपर्ने हुन्छ।” “त्यो कारणले यात्रु उडानको कुरा नगरिएको हो। अत्यावश्यक भएर कुनै मेडिकल चार्टर्ड नै गर्नुपर्ने अवस्थामा त्यो चाहिँ हुन्छ,” लामिछनेले भने। त्यसबाहेक नेपाल र भारतबीच ‘एअर बबल स्कीम’ अन्तर्गत हप्तामा दुई वटा उडान गर्न पाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।सहमतिअनुसार हप्तामा एक दिन नेपाल वायुसेवा निगमले र अर्को दिन एअर इन्डियाले काठमाण्डू र दिल्लीबीच दुईतर्फी उडान गर्न पाउनेछन्।

त्यसरी हुने उडानमार्फत नेपाली र भारतीय नागरिकबाहेक तेस्रो मुलुकका व्यक्तिले यात्रा गर्न नपाउने मन्त्रालयले जनाएको छ। आन्तरिक उडानको हकमा चार्टर्ड गर्ने हैसियत भएकाले सजिलै पाउने कतिपयले आरोप लगाइरहँदा त्यसो गर्न पाउने अवस्था नरहेको अधिकारीहरू बताउँछन्। “आन्तरिकको हकमा हिमालमा रहेका पर्यटकहरूका लागि र उनीहरूलाई चाहिने सामान ढुवानीका लागि चार्टर्ड उडान हुन्छ,” सह-सचिव लामिछानेले भने। “आवश्यकताअनुसार उद्धार उडान सधैँ भइरहन्छ। त्योबाहेक अरू उडान चाहिँ हुँदैन।”

हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टा भित्रको कोभिड नेगेटिभ रिपोर्ट र १० दिन अनिवार्य होटेल क्वारन्टीनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेस गर्नुपर्छ। भारतबाट नेपाल आउने यात्रुको हकमा सरकारले १० दिने क्वारन्टीनका लागि काठमाण्डूस्थित आठ वटा होटेलहरू सूचीकृत गरेको छ। हवाई मार्गबाट आउने नेपाली नागरिकले पनि त्यस्तै रिपोर्ट पेस गर्नुपर्ने र १० दिन अनिवार्य होटेल अथवा होम क्वारन्टीन बस्नुपर्ने मन्त्रालयले जनाएको छ।

यात्रुहरूले १० दिने क्वारन्टीनसम्बन्धी नियमको पालना नगरेको पाइएमा आवश्यक कानुनी कारबाही गरिने नागरिक उड्डयन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। कोरोनाभाइरस महामारी सुरु हुँदा अघिल्लो वर्षको चैत १० गतेदेखि नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू स्थगन गरेको थियो। सङ्क्रमणमा कमी आएसँगै गत वर्षको भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडानहरू फेरि सञ्चालनमा ल्याइएको थियो।  (बिबिसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *