२०८१ वैशाख २१ गते | 3rd of May 2024

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २७ गते ४:४०

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने तयारी गरेका छन्।  दिउँसो   बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन्। प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी थिइन्। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

 आइतबार बसेको  कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएका सांसदलाई पनि मतदानको व्यवस्थापन गर्न सकिने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन गाह्रो हुने देखिएको छ। नेकपा एमालेले ह्वीप जारी गर्दै सबै सांसदलाई प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्न भनेको छ। तर एमालेभित्र विवाद उत्कर्षमा पुगेकोले माधव नेपाल पक्षका सांसदले मतदान गर्छन् कि गर्दैनन् यकिन छैन। गत फागुन २८ का निर्णयबाट पछि हट्दै ओली २०७५ जेठ २ को अवस्थामा पार्टीलाई पुर्‍याएर क्रियाशील बनाउनुपर्ने पक्षमा नेपाल पक्ष छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने बताएका छन्। जनता समाजवादी पार्टीले ह्वीप जारी नगरे पनि ओलीका पक्षमा मत नदिने स्पष्ट गरेको अध्यक्ष उपेन्द्र यादव बताउँछन्।जसपामा अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीलाई नै निरन्तरता दिनुपर्नेमा थियो। तर आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ठाकुरले आफूहरू तटस्थ बस्ने बताएका थिए। संसदमा नेकपा एमालेका १२१ सांसद छन्। ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्छ। यस्तै कांग्रेसका दुई निलम्बितसहित ६३, नेकपा माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद संसदमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *