२०८१ वैशाख २२ गते | 4th of May 2024

काठमाडौँ उपत्यकामा जेष्ठ १३ गते सम्म निषेधाज्ञा

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २८ गते १२:१३
काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप गरिएको छ । मङ्गलवार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई १५ दिन थप गर्दै जेष्ठ १३ गतेसम्म पुर्‍याउने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  जानकारी दिनुभयो । साथै निषेधाज्ञालाई थप कडाइ गरिने समेत बताउनुभयो ।
त्यस्तै बैठकले पार्टी प्यालेसमा विवाह, व्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्दा भिडभाड भएको भन्दै त्यसलाई पूर्ण रुपमा रोक्ने निर्णय समेत गरेको छ । यस्ता कार्यक्रम १० जना भन्दा कमको उपस्थितिमा घरमा गर्न सकिने बस्नेतले बताउनुभयो । बैठकले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको बस्नेतले जानकारी दिनुभयो ।
 बैठकले बिहान १० बजेसम्म किराना पसल, तरकारी पसल, फलफूल पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न दिने गरिएको थियो । साथै कालीमाटी र बल्खुका तरकारी तथा फलफूल बजारमा बढी भिड हुने गरेको पाइएकोले त्यहाँबाट खुद्रा बिक्री बन्द गरी होलसेल मात्र सञ्चालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
बैठकले सरकारी कार्यालय तथा बैङ्कमा भिड बढेकाले न्यूनतम कर्मचारी राखी सञ्चालन गर्न आग्रह गरेको छ । अत्यावश्यक भन्दा अन्य सबै सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बस्नेतले बताउनुभयो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि उपत्यकामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको थियो । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो । पुन: आजको बैठकले १५ दिन थप गर्दै जेष्ठ १३ गते सम्म पुर्‍याउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *