२०८१ वैशाख २३ गते | 5th of May 2024

नेपाल चिकित्सक संघको गम्भिर प्रश्न: राज्य सञ्चालनको जिम्मा लिएकाहरूले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीबोध गर्दै काम गरिरहनुभएको छ त?

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २९ गते १३:५९

काठमाडौं-    कोरोना संक्रमणको बढदो अवस्था र सरकारको काम प्रति नेपाल चिकित्सक संघले गम्भिर प्रश्न उठाएको छ ।अस्पताल आउन नपाएका, आएकालाई फर्काउनुपरेका, बचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखाअगाडि मर्नुपरेको परिवारले प्राण जोगाइदिन गरेको अनुनयविनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको हृदयविदारक दृश्यले हाम्रो भोक, निद्रा सबै लगेको छ। यी सबै अस्पतालको प्रांगणमा भएका दृश्य हुन्, जुन देख्न हामी विवश छौं। संघले भनेको छ ।

 

सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू,

स्वास्थ्य मन्त्रालयको २०७८ वैशाख २८ गतेको विवरणअनुसार कोभिड-१९ बाट एकै दिन ९४८३ जनामा संक्रमण पुष्टि भयो। २२५ जनाको मृत्यु भयो। सक्रिय संक्रमित ९७ हजार ८ जना छन् भने १३७४ जना आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। यो संख्या दैनिक द्रुततर गतिमा बढेको छ। हाम्रो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको छ।

अस्पताल आउन नपाएका, आएकालाई फर्काउनुपरेका, बचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखाअगाडि मर्नुपरेको परिवारले प्राण जोगाइदिन गरेको अनुनयविनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको हृदयविदारक दृश्यले हाम्रो भोक, निद्रा सबै लगेको छ। यी सबै अस्पतालको प्रांगणमा भएका दृश्य हुन्, जुन देख्न हामी विवश छौं।

तर, जब हामी सामाजिक सञ्जाल र समाचारहरू हेर्छौं, तब जनताका यी पीडा र वेदनाभन्दा अन्य विषय प्राथमिकतामा छन्। मानौं अस्पतालका ती हृदयविदारक दृश्य अर्कै लोकका हुन्। अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ। उदेक लाग्छ। प्रश्न गर्न मन लाग्छ, के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवनभन्दा ठूलो अरू केही हुनसक्छ?

हामीले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै बेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरह्यौं। समयमै नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहक ज्यान गुमाउनुपरेको छ। सास्ती बेहोर्नुपरेको छ।

आज फेरि पनि केही आशा गरेर यो बिन्ती गर्दैछौं। अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस्। एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने। एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने।

यस क्षणमा सम्माननीय राष्ट्रपतिज्यूलाई सबै दलहरूलाई एकठाउँ ल्याउन र महामारीविरूद्ध जुट्न अभिभावकको भूमिका निर्वाह गर्न यस संघ हार्दिक अपिल गर्दछ।यस्तो भयावहपूर्ण अवस्थामा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरूको जीवन रक्षा निम्ति सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य छ। यस्तो संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्न सम्पूर्ण नागरिकहरू स्वास्थ्य सैनिकका रूपमा आ-आफ्नो स्थानबाट पहल गर्न नितान्त आवश्यक छ।

हामी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौं, गरिरहने छौं। हिम्मत नगुमाइकन गर्नेछौं। यो हाम्रो कर्तव्य हो। आजका दिनमा सबभन्दा ठूलो धर्म हो। राज्य सञ्चालनको जिम्मा लिएकाहरूले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीबोध गर्दै यो बेला त्यसरी नै काम गरिरहनुभएको छ त? हाम्रो प्रयत्नलाई फलिभूत बनाउन सबैले हातेमालो गररहेका छन् भन्ने अनुभूत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ। तर, विडम्बना हामीले त्यो अनुभूत गर्न पाएनौं।

यो लडाइँ स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्र होइन। हामी सबै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सके मात्र लडाइँ जित्न सकिन्छ।

त्यसैले, फेरि पनि विनीत भएर संघ आग्रह गर्दछ- कृपया आजको दिनमा एक मात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौं। सरकारहरू, राजनीतिक दलहरू, निजी क्षेत्र, सहयोगी निकायहरू सबैले जनताको जीवनरक्षाका लागि कहाँ कति योगदान गर्न सकिन्छ गरौं। हाम्रो स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सबैले भरथेग गरौं। एउटा राष्ट्रिय संकल्पका साथ यो महामारीविरूद्ध लडौं। हामी कोरोना युद्धमा होमिएका छौं, दृढतापूर्वक खटिने छौं। यति बेला यो लडाइँमा तपाईंहरूको संकल्प, सत्प्रयास र साथ चाहिएको छ।

त्यसैले नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आ-आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेसागत संघ-संगठनहरू, दाजुभाइ, दिदीबहिनीहरू यस युद्ध मैदानमा होमिएर हामीलाई सहयोग र सद्भाव उपलब्ध गराउँदै कोभिड-१९ को महामारीको जालो तोड्न यस संघ सबैमा हार्दिक अपिल गर्दछ।

सर्वसाधारण नागरिकहरूले यस विषमपूर्ण परिस्थितिमा धैर्य र संयम अपनाउँदै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरेर आ-आफ्नो स्थानमा सुरक्षित रहनसमेत हामी हार्दिक अपिल गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *