२०८१ वैशाख २० गते | 2nd of May 2024

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २९ गते १४:२४

काठमाडौं – चालु आर्थिक वर्षमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि आम नागरिकको दैनिकीसँग जोडिएको दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ । सरकाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यसहित मूल्यवृद्धिलाई पनि ७ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा  आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि ०७७ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको उल्लेख छ । गत आर्थिक वर्षको यही महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो ।

तर, चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०७६ चैतको तुलनामा ०७७ चैतमा सबैभन्दा धेरै मूल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको रहेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, दात तथा गेडागुडीको मूल्यवृद्धि पनि उच्च रहेको छ । यसले मुल्यवृद्धि नियन्त्रित देखिए पनि आम उपभोक्ताको दैनिकी भने महँगिएको प्रस्ट हुन्छ । यद्यपि, तरकारीको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकानुसार खाद्य तथा पेयपदार्थ समूहमा सबैभन्दा धेरै मुल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको क्रमशः २१.३८ र १२.६१ प्रतिशत रहेको छ । यस्तै, दात तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि ८.८४ प्रतिशत रहेको छ । तरकारी उपसमूहको मूल्य भने ०७६ चैतको तुलनामा ११.६७ प्रतिशतले घटेको छ ।गैरखाद्य तथा सेवा समूहमा रहेको ढुवानी (ट्रान्सपोटेसन) उपसमूहका मूल्यवृद्धि सर्वाधिक ८.७७ प्रतिशत छ । त्यस्तै, फर्निचर तथा घरायसी सामान, कम्युनिकेसन र स्वास्थ्य क्षेत्रको मूल्यवृद्धि क्रमशः ४.४९, ३.९५ र ३.६ प्रतिशत रहेको छ । चैत महिनाको वार्षिक विन्दुगत तथ्यांकमा सबैभन्दा उच्च मुद्रास्फीति पहाडी क्षेत्रमा ३.३८ प्रतिशत हुँदा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत र हिमालमा १.५४ प्रतिशत रहेको छ ।

०७७ चैतमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने ६.१४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । उपभोग्य वस्तुको थोक मुद्रास्फीति नै उच्च रहेकोले पनि मूल्य आम नागरिकको भान्सा महँगिएको प्रस्ट हुन्छ ।

यता, निर्माण सामग्रीको थोक मूल्यवृद्धि भने ५.९६ प्रतिशत रहेको छ ।कोभिड–१९ प्रभावका बीच ०७६ चैतको तुलनामा ०७७ चैतमा श्रमिकको ज्याला सामान्य बढेको छ । ०७७ चैतमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक १.८९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि, गत वर्षको यही अवधिमा ७.४९ प्रतिशतले बढेको तलब तथा ज्यालादर सूचकांकको वृद्धिदर समीक्षा अवधिमा घटेको छ ।एक वर्षको अवधिमा सबै क्षेत्रका कमचारीको तलब नबढे पनि ज्यालादर बढेको छ । जसले तलब तथा ज्यालादर सूचकांकमा सामान्य वृद्धि भएको हो ।  ज्यालादर सूचकांक २.४३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । निर्माण क्षेत्रका मजदुरको ज्याला सबैभन्दा धेरै ४.६३ प्रतिशतले बढ्दा निर्माण क्षेत्रमा समग्र कामदारको भने २.७३ प्रतिशतले बढेको छ । यस्तै, औद्योगिक कामदारको १.७२ र कृषि क्षेत्रका कमदारको ज्याला २.७१ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *