टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदका बलिया उम्मेदवार विकास उप्रेतीले संस्थालाई नयाँ ढंगबाट सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । चुनावी प्रचार तथा सामुदायिक भेटका लागि अमेरिकाका विभिन्न राज्यमा आयोजीत अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउने क्रममा उप्रेतीले संस्थालाई ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै संस्थागत सुधार, युवा सहभागीता र आमुल परितर्वनको लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
एनआरएनए अमेरिकाका दक्षिण क्षेत्रीय संयोजक समेत रहेका उप्रेत्तिले सस्थाप्रतिको विश्वसनीयता कायम गर्न आवश्यक रहेकोमा जोड पनि दिनुभयो । लाखौ नेपाली रहेको अमेरिकामा बल्लतल्ल २० हजारको हाराहारीमा सदस्य संख्या पुग्नुले संस्थाप्रतिको कम चासो र विश्वसनीयता कम रहेको पुष्टि हुने बताउँदै सस्थालाई सर्वपक्षीय, सर्वमान्य र सबैको साझा संस्थाको रुपमा विकास गर्नुपर्ने खाँचो पनि औल्याउनुभयो ।
संस्थालाई सबैले गर्व गर्न लायक बनाउनुपर्ने बताउँदै त्यसको लागि संस्थाभित्र देखिएका विकृति, विसंगति र गलत प्रवृत्तिको भण्डाफोर हुनुपर्ने बताउनुभयो । संस्थामा मौलाउँदै गएका केहि गलत प्रवृत्तिले सस्थाको साख गिर्दै गएकोप्रति पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ संस्था जुन उद्देश्यले स्थापना भयो सोही अनुरुप अगाडि बढ्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै आफूहरु संस्थालाई पादर्शी, जिम्मेवार र उत्तरदायीपूर्ण बनाउन लागिपर्ने पनि स्पष्ट पार्नुभयो ।
एनआरएनए अमेरिकालाई नमूना र उदाहरणीय एनसिसीको रुपमा अगाडि बढाउन आवश्यक भएको बताउँदै अमेरिकाको एनसिसीबाट विश्वभरका अरु एनसिसीले सिक्न सक्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले चुनावको नाममा नेपाली समुदायबीच कायम एकता, सद्भाव भड्काउन नहुने र सबैलाई एकताको शुत्रमा बाधिनुपर्ने पनि विचार ब्यक्त गर्नुभयो । साथै, उहाँले एनआरएनएलाई राजनीति र नाफामुलकबाट टाढा राखेर सामाजिक बनाउनु कर्तब्य भएकाले त्यहाँ लिन नभई दिन जानुपर्ने कुरा बिर्सन नहुने बताउनुभयो । एनआरएनएमा जाने भनेको केहि दिनको लागि हो, आफूले सकेको योगदान पुर्याउनको लागि हो, तर यहाँ ठिक उल्टो गतिविधी भइरहेको छ, उहाँले भन्नुभयो ।